इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले २९ किलो ६९५ ग्राम लागुऔषध चरेशसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रुकुम पूर्व भूमे गाउँपालिका २ खावाङ बस्ने ४४ वर्षका फर्क बहादुर घर्ती, सोही ठाउँका ५३ वर्षका रुपधन घर्ती र ६४ वर्षका जुन बहादुर पुन रहेका छन् ।
प्रहरीले उनीहरुलाई गोप्पे सूचनाका आधारमा घोराही १३ बाह्कुने दहस्थित घोराही–होलेरी सडकखण्डबाट पक्राउ गरेको हो । गोप्पे सूचना पाएको दाङ जिल्ला प्रहरी र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बाँकेबाट खटिएको प्रहरीको टोलीले सोमबार उनीहरुलाई आलु राखेको बोराभित्र लुकाएर राखिएको चरेशसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन् ।











