पर्सा । पर्सा जिल्ला प्रशासन कार्यालय अगाडि एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् । सोमबार करिब साढे १२ बजेतिर ती मिटर ब्याज पीडितले मुसा मार्ने विषादी बोकेर शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।

तर तत्काल प्रहरीले थाहा पाएपछि उनको उद्धार गरी नारायणी अस्पताल पुर्‍याएको थियो । मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै बाराको पचरौता नगरपालिका ४ घर भई पर्साको वीरगञ्ज नगरपालिका २४ बस्ने करिब ६० वर्षीय बृजकिशोरप्रसाद साहले आत्मदाहको प्रयास गरेका हुन् । उद्धारपछि उनको अवस्था सामान्य रहेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताएका छन् ।

साहले एक लाख ५० हजार रुपैयाँ ऋण लिएका रहेछन् । सो बापत उनले ६ लाख रुपैयाँ मूल्य पर्ने जमिन पास गरिदिएका रहेछन् । अहिले उक्त ऋण चुक्ता गरेर जमिन फिर्ता लिन खोज्दा नमानेको उनले बताएका छन्’,अर्यालले भने ।