दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा फागुन २ गतेदेखि आयोजना गरिएको महोत्सव सकिएको छ । ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखि अर्थतन्त्रको निकास’ भन्ने मूल नारासाथ आयोजना गरिएको ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ को एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरी महोत्सवको समापन गरिएको हो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षता एवं जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै शर्माले दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवले दंगाली उद्योगी व्यवसायीहरूलाइ उत्साहित बनाएको बताए । साना तथा मझौला उद्योगहरूले उत्पादन गरेको वस्तुहरूलाई बजारिकरण गर्नकालागि महोत्सवले अवसर प्रदान गरेको बताए । पर्यटकिय तथा धार्मिक स्थलहरूको पनि प्रचारप्रसार यश महोत्सवले गरेको उनले बताए।
दाङ जिल्ला बहुभाषि, बहुधार्मिक, बहुसांस्कृतिक जिल्ला भएकाले महोत्सवले सबैलाई समेटेर स्थान दिएको उनको भनाई थियो । महोत्सव समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, नेपाली काग्रेसका गोपाल भुषाल, नेकपा एमालेका विवेक श्रेष्ठ, नेकपा माओवादी केन्द्रका खिमबहादुर चौधरी, राष्ट्रिय जनमोर्चाका रामबहादुर जिएम, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए । संघका उद्योग उपाध्यक्ष ध्रुव गहतराजको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा वाणिज्य उपाध्यक्ष लिलाराम खड्काले धन्यवाद गरेका थिए । कार्यक्रमको सहजिकरण महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए । समापन अवसरमा विभिन्न प्रतियोगिताको बिजयीहरूलाई पुरस्कार र सहयोगीहरूलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
अन्तिम दिन पनि सांस्कृतिक प्रस्तुति
महोत्सवको अन्तिम दिन पनि चर्चित कलाकारहरूले सांगितिक प्रस्तुतिहरू राखे । अन्तिम दिन आईतवार दंगाली कलाकारहरूसँगै अन्य कलाकारहरूले प्रस्तुति राखेका थिए । दंगाली कलाकारहरू टीका सानू, प्रेमप्रकाश वली, बिजय परियार लगायतका कलाकारहरूले आफ्नो प्रस्तुति राखेका थिए ।
लोकप्रिय गायिका टीका सानुले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरिन् । उनले घासै काटौ खोली दोभान, हेर सानू माया बिना दिन पनि मैना झै, सलल रापति भेरी गयो माया नहेरी नहेरीु लगायतका गीतहरू प्रस्तुत गरेकी थिइन् । आइतवार सन्जना श्रेष्ठ, बिमता घर्ति मगर, ममता केसी, आशा विश्वकर्मा लगायतका कलाकारहरूले प्रस्तुति राखे भने महोत्सवमा बाल कलाकार कस्मित अर्यालले पनि आफ्नमे प्रस्तुत गरेका थिए ।
शोभायात्रामा यूनिक नौमतिबाजा प्रथम
महोत्सवको उद्घाटनका दिन भएको शोभायात्रामा यूनिक नौमतिबाजा संरक्षण समिति घोराही १३ प्रथम भएको छ । मुल्यांकन समितिको नतिजा सार्वजनिक गरिएको हो । जस अनुसार नमूना साँस्कृतिक आमा समूह घोराही १३ दृतिय, गैरागाँउ गनारी टोल विकास संस्था घोराही १७ तृतिय, गोदावरी बोर्डिङ स्कुल घोराही १३, रोल्पा कोटगाउँले समाज घोराही र नौलो टोल विकास संस्था घोराही १८ सान्त्वना भएको शोभायात्रा व्यवस्थापन उपसमितिका संयोजक निमबहादुर बुढाथोकीले जानकारी दिए ।
धन्यवाद ज्ञापन
महोत्सव सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा आयोजक दाङ जिल्ला उद्योग वाणिज्य संघले धन्यवाद ज्ञापन गरेको छ । फागुन २ गतेदेखी १८ गतेसम्म घोराही उपमहानगरपालिका वडा न १४ झिगौरामा आयोजना गरेको ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ सफल बनाउनकालागी सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेको हो । अध्यक्ष बसन्ता जोशी र महासचिव महेन्द्र बुढाथोकीले एक विज्ञप्ती सार्वजनिक गरेर महोत्सव सफल बनाउनका लागि सहयोग गर्ने सम्पूर्ण सरकारी निकाय, उद्योगी, व्यवसायी, राजनितिक दल, सामाजिक संघसंस्था, सुरक्षा निकाय, सञ्चार माध्यम, सम्पूर्ण पत्रकार, उपस्थित दर्शकहरू लगायत सबैमा धन्यवाद दिएको हो ।











