प्यूठान । हिजो शनिवार घरभित्रै मृत भेटिएका दम्पतीको हत्या गरेको अभियोगमा उनीहरुकै भतिजालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरूको हत्या गरेको अभियोगमा भतिजा नाता पर्ने ३४ वर्षीय पंकज नेपालीलाई पक्राउ गरेको छ ।

माण्डवी गाउँपालिका २ रातमाटेमा ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार शनिबार दिउँसो आफ्नै घरभित्र मृत फेला परेका थिए। पंकजको घर मृतकको घरबाट ६० मिटर टाढा मात्रै रहेको छ।

प्यूठानका प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालका अनुसार सँधै गाली गर्ने, रिसाउने, घर पनि नआइज भन्ने जस्ता कुरा गर्ने गरेकाले रिसमा आएर घनले हिर्काएर हत्या गरेको भनेर पंकजले स्वीकारेका छन् ।

हत्या आरोपमा पक्राउ परेका पंकजले अत्याधिक रक्सी सेवन गर्ने गरेको पनि खुलेको छ । रक्सी सेवन गरेर ९ गते राति साढे १० बजेतिर काकाको घरमा पुगेको र दोस्रो तलाको झ्यालबाट प्रवेश गरी भर्‍याङबाट भुईंतलामा झरेर परियार दम्पती सुत्ने कोठामा गएर ढोकाको छेउमा राखेको घनले दुवै जनाको टाउकामा हानेर हत्या गरेको बताइएको छ ।

हत्यामा प्रयोग भएको घटना भएको घरदेखि ५० मिटर पूर्वमा रगत लागेको अवस्थामा घन बरामदको प्रहरीले जनाएको छ । शनिबार दिउँसो १२ बजेसम्म पनि घरको ढोका नखोलेपछि रामबहादुरका छिमेकी उनलाई बोलाउन गएका थिए। त्यो घरमा बुढाबुढी मात्रै थिएभने उनीहरुका चार छोरा भारतमा बस्छन्। दुई छोरी बिबाह भई दाङ बस्छन्।