साउन, १६ रोल्पा 
‘सीमावारि सीमापारि पुरस्कार’ यस वर्ष कथाकार रोशन समीप वलीलाई प्रदान गरिने भएको छ । ‘आँखाभित्रको फूल’ कथासङ्ग्रहका लागि कथाकार वलीलाई यस पुरस्कार प्रदान गर्न लागिएको छ । ललित साहित्य परिषद्, रोल्पाको आइतबार लिबाङ बसेको बैठकले यस्तो निर्णय गरेको हो । रोल्पाका १६ जना स्रष्टाहरु मिलेर स्थापना गरेको यो पुरस्कार हरेक वर्ष जिल्लाबाट प्रकाशित कृतिहरुमध्ये उत्कृष्ट कृतिलाई छनौट गरी प्रदान गरिन्छ । Khemraj, Naibn & Roshan

लोक आलोकको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले ‘आँखाभित्रको फूल’ कथासङ्लाई पुरस्कारका लागि छनौट गरेको हो । ५ हजार राशीको उक्त पुरस्कार अघिल्लो वर्ष कवि पुरण क्षेत्रीलाई प्रदान गरिएको थियो । पुरस्कारका लागि ८० हजारको अक्षयकोष परिषद्मा राखिएको छ । यस्तै सोही बैठकले कवि पुरण क्षेत्रीद्वारा स्थापित ‘वीर स्मृति कविता पुरस्कार’ स्रष्टा खेमराज शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।

हरेक २ वर्षभित्र रोल्पा जिल्लाबाट प्रकाशित काव्यकृतिहरुमध्ये उत्कृष्ट कृतिलाई छनौट गरी प्रदान गरिने परिष्दका परिषद्का अध्यक्ष ओम केसीले बताए । डी.बी टुहुरोको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले सिफारिस गरे अनुसार ‘बूढाको अर्ति’ नाम खण्डकाव्यका लागि कवि शर्मालाई यस पुरस्कार पहिलो पटक प्रदान गर्न लागिएको हो । पुरस्कारका लागि क्षेत्रीले परिषद्मा ११ हजारको अक्षयकोष स्थापना गरेका छन् । परिषद्ले यही साउन २२ गते लिबाङमा कार्यक्रमको आयोजना गरी ‘सीमावारि सीमापारि पुरस्कार’ र ‘वीर स्मृति कविता पुरस्कार’ वितरण गर्ने निर्णय गरेको परिषद्का महासचिव नवीन लोचन मगरले जानकारी दिए ।

यस्तै बैठकले कथाकार क्षितिज मगरले स्थापना गरेको ‘दलसुर स्मृति कथा पुरस्कार’ यसवर्ष नवीन विभासलाई प्रदान गर्ने निर्णय गरेको छ । नवीन लोचन मगरको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले सिफारिस गरे अनुसार विभासलाई उक्त पुरस्कार पहिलो पटक नै प्रदान गर्न लागिएको हो । पुरस्कारको राशी २ हजार ५ सय रहेको छ । रोल्पा जिल्लामा जन्मिएर कथा लेखनमा क्रियाशील एक जना कथाकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिने परिषद्ले जनाएको छ । पुरस्कार वितरण मोती जयन्तीको अवसरमा लिबाङमा गरिने समेत परिषद्का अध्यक्ष केसीले जानकारी दिए ।