इन्द्रेणी संवाददाता
दाङ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको विस्तार र स्तरबृद्धिका लागि पहल गर्ने बताएका छन् । आज शनिवार दाङको दंगीशरण गाउँपालिका वडा नं. ३ चखौरामा आयोजित अन्तरप्रदेश स्तरीय थारु सांस्कृति सम्मेलनको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
एरपोर्ट सानो भएकाले जहाज अवतरणका लागि सहज नभएको विषय उठेको भन्दै सभापति देउवाले यसलाई ठूलो,राम्रो र स्तरिय बनाउनका लागि सम्भव भएसम्म विज्ञहरुसँग छलफल गरी पहल गर्ने आस्वासन दिए । उनले थारु संस्कृतिलाई संरक्षण गर्दै लैजानुपर्ने र थारु यो समुदायले आफूलाई शिक्षा, आर्थिकस्तर बृद्धिलगायतका अन्य क्षेत्रमा पनि अगाडि बढाउनुपर्ने बताए ।
मटावाँ, बरघर, भलमन्सा संघले आयोजना गरेको सम्मेलन भोलिसम्म चल्नेछ । सो अवसरमा अन्तर प्रदेशस्तरीय सांस्कृतिक तथा रैथाने खाना महोत्सवको पनि आयोजना गरिएको छ । महोत्सवमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, रुपन्देही, नवलपरासी, कपिलबस्तु जिल्ला हजारौं मटावाँ, बरघर (भलमन्सा), ककन्डर्वाहरू लगायत थारु समुदायको सहभागिता छ ।
