काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्ष दलहरुलाई सरकार ढल्यो ढल्नै लाग्यो भनेर समय खेर नफाल्न आग्रह गरेका छन् ।
आज सङ्घीय संसद्, प्रतिनिधिसभाको पाँचौं अधिवेशनलाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् । “विपक्षमा रहेका साथीले एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको छ, ‘सरकार ढल्छ, ढल्नै लाग्यो।पुस मसान्त, माघे सङ्क्रान्ति काट्दैन।यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा गाउन बन्द गरौं’’, उनले भने ।
प्रधानमन्त्री ओलीले पार्टी टुक्राउने र भत्काउनेजस्ता खुद्रे कुरा यो सरकारको मेन्युमा नरहेको स्पष्ट पार्दै काँग्रेस एमालेसहितको बलियो सरकारको प्राथमिकता त्यस्तो हुन नसक्ने ।
ओलीले विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने बताए । सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखापरेका सबल र दुर्बल पक्ष, अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने उनले स्पष्ट पारे ।
