इन्द्रेणी संवाददाता
दाङ । दाङमा ३९ हजार भन्दा बढी किशोरीहरुलाई ह्युमन प्यापिलोमा भाइरस विरुद्धको (एच.पि.भी.) खोप लगाइने भएको छ । यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने (एच.पि.भी.) खोप अभियानमा जिल्लाका दश पालिकाका ३९ हजार ४५० जना किशोरीलाई खोप दिन लागिएको हो ।
अभियानका क्रममा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा ६–१० सम्मका छात्रा र विद्यालय नजाने १०–१४ वर्षसम्मका किशोरीहरुलाई यो खोप लगाइने जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । जसका लागि जिल्लाका ३९१ विद्यालयमा ४३५ वटा र वाहिर १३ गरी ४४८ वटा खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन किशोर आचार्यले जानकारी दिए ।
जिल्लाको कुन पालिकामा कतिलाई खोप दिइदैछ
एक पटक मात्रै लगाइने यो खोप यस वर्ष अभियानका रुपमा सञ्चालन भएको र आगामी वर्षदेखि सरकारले नियमित खोपमा समावेश गर्दैछ । यो वर्ष खोप अभियानमा कक्षा ६–१० सम्मका किशोरी र विद्यालय वाहिर रहेका १०–१४ वर्षसम्मका किशोरीहरुलाई खोप दिइने भएपनि नियमित खोपमा समावेश गरेपछि कक्षा ६ का छात्रा र विद्यालय वाहिरका १० वर्षका किशोरीलाई मात्रै खोप दिइने छ ।
पाठेघरको मुखको क्यान्सर विरुद्धको (एच.पि.भी.) खोप अभियान दाङको पश्चिमका केही पालिकामा अन्य नियमित खोपका कारण माघ २४ र २७ गतेदेखि सञ्चालन हुने र अन्य सबै पालिकामा माघ २२ गते नै सञ्चालन हुने आचार्यले बताए । अभियानका लागि सबै तयारी पूरा समेत भइसकेको फोकल पर्सन आचार्यले जानकारी दिए ।
नेपालमै मधेश प्रदेशपछिको जोखिम प्रदेश लुम्बिनी प्रदेश रहेको र त्यसमा पनि दाङ जिल्ला अत्याधिक जोखिम जिल्ला रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
नेपालमा हेरेक वर्ष दुई हजार १६९ जना महिलामा पाठेघरको मुखको क्यान्सर हुने र जसमध्ये एक हजार ३१३ जना महिलाको मृत्यु हुने गर्दछ । यसलाई रोकथाम गर्नका लागि सरकारले यस विरुद्धको खोप अभियान, हरेक महिलाको पाठेघरको मुखको परीक्षण र उपचार पद्धतिलाई सँगसँगै अगाडि बढाएको छ । यो रोग विशेष गरी ह्युमन प्यापिलोमा भाइरसको संक्रमणका कारण हुने गरेको पाइन्छ । एच.पि.भी. खोप लगाएपछि ८० प्रतिशत महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट मुक्त हुने अपेक्षा गरिएको छ ।
यसैबीच अभियानका बारेमा जानकारी दिन स्वास्थ्य कार्यालय दाङले आज जिल्लाका सञ्चारकर्मीहरुसँग अन्तक्र्रिया गरेको छ । अन्तक्र्रियामा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले अभियान सफल पार्न र महिललाई पाठेघरको मुखको क्यान्सनजस्तो रोगबाट मुक्त गराउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आवश्यक रहेको बताएका थिए । कार्यक्रम जिल्ला खोप समन्वय समितिका अध्यक्ष नित्यानन्द शर्माको अध्यक्षतामा भएको थियो ।
