दाङ। मानव कल्याण समाज दाङ (सेवा घर) को आयोजनामा घोराहीमा श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा यही माघ १७ गतेदेखि २४ गतेसम्म महायज्ञ सञ्चालन हुने छ । समाजले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरी महायज्ञको बारेमा जानकारी गराएको छ।
महायज्ञ मूल आयोजक समितिका संयोजक चन्द्रराज पन्तको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मानव कल्याण समाजकी संस्थापक अध्यक्ष तथा प्रमुख कथा बाँचिका सुमी मानवले सेवा घर हाम्रो जीवन पढ्ने विश्वविद्यालय भएको जानकारी दिँदै महायज्ञ मानव समाजको बारेमा थाहा पाउने र बुझ्ने अभियान भएको बताइन् ।
घोराही–१० नारायणपुरमा रहेको सेवा घरमा हाल ५२ जना व्यक्तिहरुले सेवा पाइरहेको अध्यक्ष सुमि जानकारी दिइन्। जसमा चार महिनाको बालिकादेखि लिएर ९० वर्षसम्मका बृद्धहरु रहेका छन् । सेवा घरमा चार जना बालिका र तीन जना बालक गरी सात जना रहेका छन् भने २१ जना पुरुष र २४ जना महिलाहरु रहेका छन् ।
सेवा घरमा रहका ५२ जनाको परिवारमा ४५ जनाले नियमित रुपमा मानसिक रोगको औषधि सेवन गरिरहेको समेत उनले बताइन् । महायज्ञबाट संकलित रकम सेवा घरमा रहेका व्यक्तिहरुकै लागि खाना, नाना र छानामा मात्र प्रयोग गरिने अध्यक्ष सुमिको भनाइ छ । महायज्ञका लागि मूल समिति तथा विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।
यस श्रीमद्भागवत ज्ञान–विज्ञान महायज्ञमा आर्थिक सहयोगसँगै आफ्नो जन्मोत्सव, बिवाह उत्सव, ब्रतबन्ध, चौरासी, गुन्युचोली, पितृहरुको सम्झना वा यस्तै बिशेष पलहरुमा सेवा घरमा एक छाक भोजन वा कुनै विषयगत सेवा गरेर मानव कल्याण समाजलाई सहयोग गर्न सकिने छ ।
