उदय बीसी
दाङ । मानिसले आत्महत्या गर्नु सानो पीडाको विषय मान्न सकिदैन । एक पटक पाएको जीवन नष्ट गर्नु सजिलो कार्य पनि होइन । तर त्यही बाटो रोज्छन् मान्छेहरुले । जिल्ला प्रहरी कार्यालय दाङको पुस महिनाको तथ्याङ्कलाई मात्रै हेर्ने हो भने जिल्लामा विभिन्न कारणले २२ जनाले आत्महत्या गरेका छन् । जसमा १२ जना पुरुष छन् भने दश जना महिला छन् ।

त्यसमा पनि सबैभन्दा बढी वयस्क अवथाकै छन् । प्रहरीको तथ्याङ्क अनुसार ३६–४५ वर्षका आठ जनाले आत्महत्या गरेको देखिन्छ । त्यस्तै ४६–६० वर्षसम्मका पाँच, २६–३५ वर्षसम्मका चार, १८ वर्षसम्म र १९–२५ वर्षसम्का दुई/दुई र ६० वर्षभन्दा माथिका एक जनाले आत्महत्या गरेका छन् ।

चालु आर्थिक २०८१/०८२ को हालसम्म जिल्लामा ९९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा २१० जना, आ.व. ०७९/८० मा २११ जना र आ.व. ०८०/८१ मा १९९ जनाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ ।

प्रहरीकोे तथ्याङ्क अनुसार झुण्डिएर, विषसेवन र हामफालेर आत्महत्या गरेको उल्लेख छ । एक महिनामा २२ जनाले ज्यान गुमाउनु सामान्य विषय होइन । जिल्लामा मानिसले किन आत्महत्या गर्छन् ? भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी ईश्वर थापाले खासै मुख खोल्न चाहेनन् । ‘यसमा ठ्याक्कै किन भनेर अध्ययन भएको छैन, संख्या मात्रै उल्लेख गरौं, विशेष गरी मानसिक समस्या नै हो’, उनले इन्द्रेणी अनलाइनसँग भने ।

हुन त जिल्ला प्रहरी कार्यालयले जिल्लामा आत्महत्या न्यूनिकरण गर्नका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । पुस महिनामा मात्रै प्रहरीले जिल्लाका विभिन्न स्थानमा सामुदायलाई लक्षित गर्दै आत्महत्या न्यूनिकरणका १५ वटा कार्यक्रम सम्पन्न गरेको छ । जसबाट ६७९ जना लाभान्वित भएको पनि प्रगति विवरणमा उल्लेख छ । यसअघिका जिल्लाका विभिन्न तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने गरिवी, पारिवारिक आर्थिक अवस्था, सामाजिक सांस्कृतिक, पारिवारिक तथा वैवाहिक सम्बन्धलगायत आत्महत्याका कारणहरु भएको देखिन्छ ।

पुस महिनाको प्रगति सार्वजनिक
जिल्ला प्रहरी कार्यालय दाङले पुस महिनामा कार्यालयको तर्फबाट भएको प्रगति विवरण सार्वजनिक गरेको छ । मंगलवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी एक महिने प्रगति विवरण सार्वजनिक गरेको हो । प्रगति विवरण सार्वजनिक गर्दै प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले पुस महिनामा विभिन्न समयमा ५७ जना फरार प्रतिवादी पक्राउ गरेको बताए । त्यस्तै २४ किलो ७१० ग्राम चरेससहित तीन जनालाई पक्राउ गरिएको छ ।

त्यस्तै जिल्ला प्रशासनमार्फत प्रहरीमा विभिन्न ८३ उजुरी आएको र जसमा ३३ वटा मिलापत्र भएको, ६ वटा मातहतका निकायमा पठाइएको र बाँकी ४४ वटा प्रक्रियामा रहेको डिएसपी थापाले जानकारी दिए । त्यस्तै लागुऔषध ब्राउनसुगर ८१० मिलिग्राम, नाइट्राभेट क्याप्सुल, गाँजासहित ८ जनालाई नियन्त्रणमा लिइएको छ । त्यस्तै नियमित ट्राफिक चेकजाँचबाट राजस्व संकलन, विभिन्न जनचेतनामूलक कार्यक्रमलगायतका कार्यक्रम सम्पन्न भएको प्रगति विवरणमा उल्लेख छ । त्यस्तै प्रहरीले जिल्लामा पहिलो पटक कुनै व्यक्तिले लागुऔषध सेवन गरेको संका लागेमा परीक्षण गर्ने अभियान सञ्चालन गरेको छ । जसका लागि नेशनल प्याथोलोजीले सहकार्य गरिरहेको प्रहरीले जनाएको छ ।