काठमाडौं । सरकारले नेपाल प्रहरी नायब महानिरीक्षक (डिआइजी) द्वय कुवेर कडायत र रविन्द्र केसीलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
सोमबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सो कुराको जानकारी दिए ।
मन्त्री गुरुङले नेपाल प्रहरी नायब महानिरीक्षकद्वय कडायत र केसीलाई क्रमशः नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने निर्णय बैठकले गरेको बताए ।
यसैगरी, निजामति सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका दिनेश भट्टराईलाई उपराष्ट्रपति कार्यालयको सचिवमा, भरतमणि सुवेदीलाई निर्वाचन आयोगको सचिवमा, सुमनराज अर्याललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सचिवमा, गणेशप्रसाद पाण्डेयलाई महालेखा नियन्त्रक कार्यालयको महालेखा नियन्त्रकमा, कृष्णहरि पुष्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा, रविलाल पन्थलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन कार्यालयको सचिवमा सरुवा गर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै, मुकुन्दप्रसाद निरौलालाई सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिवमा, विनोदप्रकाश सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा र लक्ष्मीकुमारी बस्नेतलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।
