
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौँ, जिल्ला अदालतले हिरासतमा पठाइएको छ। अदालत आइतबार बयान भए पनि थुनछेक बहस नभएपछि पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका लामिछानेलाई अदालतले हिरासतमा पठाइएको हो।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो । अदालतले लामिछानेलाई सोमबार बिहान १० बजे अदालतमा उपस्थित हुने गरी हिरासतमा पठाएको हो ।
लामिछानेले आफू अदालत हाजिर भएकोले परिवारको जिम्मा लगाउन आग्रह गरेका थिए। उनका वकिलहरूले पनि परिवार वा वकिलको जिम्मामा छाड्न भनेका थिए।
तर न्यायाधीशले प्रहरीको जिम्मा लगाउने आदेश दिएका हुन्। जिल्ला न्यायाधीशले प्रहरीको जिम्मा लगाउने आदेश दिएपछि लामिछानेले श्रीमानको आदेश स्वीकार गर्छु भनेका थिए।
लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकालीको हिरासतमा राखिने प्रहरीले जनाएको छ। लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँ कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरुपयोग आरोपमा मुद्दा दर्ता भएको छ । लामिछानेसहितका प्रतिवादीविरुद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार दुई सय ७० रुपियाँ बिगो कायम गरिएको छ ।
यसअघि लामिछानेलाई सुर्यदर्शन सहकारी पोखराको मुद्दामा जिल्ला अदालत कास्कीले यसअघि ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।
