पोखरा। कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नीतिज राईको इजलासले विहीबार ६५ लाख धरौटी माग गरेको हो।
त्यस्तै गोरखा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशीसँग ८८ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको छ । पुस ७ गते जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। लामिछानेसहितले सूर्यदर्शनको बचत गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोग छ। लामिछाने गोरखा मिडियाको पूर्वप्रबन्ध निर्देशक र सेयर सदस्य हुन्। अहिले कास्की प्रहरीको हिरासतमा गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी पूर्व प्रहरी नायब महानिरीक्षकसमेत हुन् ।
लामिछानेसहितका प्रतिवादीमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएको थियो। सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा पूरक र थप गरी अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ। प्रतिवादीसँग एक अर्ब ५१ करोड बिगो माग भएको छ।
