कास्की । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई तारेखमा छाडिदिन आग्रह गरेका छन्।
आज बिहीबार सरकारी वकिलको जवाफी बहस सकिएपछि जिल्ला अदालत कास्की इजलासमा लामिछानेले जिल्ला न्यायाधीश नितिज राईसँग आफूलाई तारेखमा छाड्न आग्रह गरेका हुन्। लामिछानेले धेरै बेर कुरा राखेपछि जिल्ला न्यायाधीश राईले संक्षिप्तमा कुरा राख्न भनेका थिए। उनले पीडितको बचत फिर्ता ल्याउन सघाउने पनि बताएका थिए ।
‘पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु,। बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस् । गृहमन्त्री हुँदा पनि शक्ति दुरुपयोग गरिनँ । अब पनि दुरुपयोग गर्ने अवस्था छैन’, उनले भने ।
जिल्ला अदालत कास्कीले आजै लामिछानेबारे थुनछेक आदेश दिने तयारी गरेको छ। त्यसकारण अदालत परिषरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
