कास्की। कास्की पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका प्रतिवादी र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीको जवाफी बहस सकिएको छ । आज सरकारी वकिलले जवाफी बहस गर्दैछन् ।

न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस जारी छ । प्रतिवादीहरुका तर्फबाट कानुनी व्यवसायीहरुको बहस सकिएपछि सरकारी वकिलको जवाफी बहस सुरु भएको अदालतले जनाएको छ । लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको छ ।

चेकको हस्ताक्षर रविकै भएको प्रमाणित
यसैबीच सहकारीको बचत गोर्खा मिडियामा आएको विषयमा आफूलाई जानकारी नै नभएको दाबी गर्दै आएका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले काटेका चेकको हस्ताक्षर फरेन्सिक परीक्षणबाट पनि प्रमाणित भएको छ ।

कम्पनीको प्रबन्ध निर्देशकका रूपमा लामिछानेले १५ महिनामा ८२० चेक काटेका थिए, जसमा चार दर्जन चेक सहकारीको ऋण भुक्तानीका लागि काटिएका थिए यो खबर आजको कान्तिपुरमा छ।