काठमाडौं । आज पनि तराईँका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । पूर्वी तराईमा दिउँसोपख हुस्सु हटे पनि मध्य र पश्चिम तराईँमा भने दिनभरजसो नै हुस्सु लाग्ने गरेको छ । यसको प्रभाव भोलि र पर्सी बिहानसम्मै रहने मौसमविद्ले बताएका छन् ।
त्यसपछि पश्चिमी न्यूनचापीय प्रणालीका कारण हुस्सु र कुहिरोको प्रभाव विस्तारै कम हुँदै जाने र शनिवार पानी पर्ने सभवना रहेको मौसमविद्झाले बताएका छन् । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले गण्डकीको पहाडी क्षेत्र, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
बाक्लो हुस्सु र कुहिरोसँगै चलेको शितलहरका कारण तराइँका जिल्लामा जनजीवन कष्टकर बनेको छ भने नारायणगढ–बुटवल सडकखण्डमा हुस्सु र कुहिरोले दृश्य नदेखिने र शीतलहरले बाटो चिप्लिने समस्या भएकाले गाडी सञ्चालनमा कठिनाइ भएको नवलपरासी प्रहरीले जनाएको छ ।
हिजो बिहानदेखि बन्द रहेको बुटवल–नारायणगढ सडकखण्ड दिउँसोपछि एकतर्फी खुलेको थियो । चिसो बढेपछि तराइँका केही जिल्लामा विद्यालय समेत बन्द भएका छन् भने केही जिल्लाका प्रशासनहरुले चिसोबाट वच्न सचेत रहने सूचना समेत जारी गरेका छन् ।
