सल्यान । सल्यानको कपुरकोट कृषि सहकारी संस्थाले पशुपालन तथा तरकारी खेतीमा सवा ३ करोडभन्दा बढी रकम लगानी गरेको छ । संस्थाले उत्पादनमुखी क्षेत्रलाई प्राथमिकता दिँदै कृषकहरूको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यसहित कृषि क्षेत्रमा ३ करोड ३१ लाख ३१ हजार ५५१ रुपैया लगानी गरेको हो ।
शनिबार कपुरकोटमा आयोजित १७ औं वार्षिक साधारणसभामा सहकारीका अध्यक्ष मधुसूदन गिरिले प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०८०/०८१ मा ५८ लाख ९२ हजार ७२५ रुपैया आम्दानी गरेको जानाकारी दिए । यसमध्ये ३५ लाख७७हजार २५९ रुपैया कपुरकोट कृषि सहकारी संस्थाको एक बर्षको अवधिमा खर्च भएको छ भने खुदनाफा २३ लाख १५ हजार ४६६ रुपैया रहेको छ ।
सहकारीको कुल पूँजी ३ करोड ६८ लाख ७७ हजार ६०५ रुपैया रहेको अध्यक्ष गिरीले जनाए । गत आर्थिक बर्षमा सहकारीले १ करोड ४८ लाख ५० हजार ३३१ रुपैया निक्षेप संकलन गरेको छ भने १ करोड २३ लाख २० हजार १६६ रुपैया वचतफिर्ता गरेको छ ।
साधारणसभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुती सहित सहकारीले गरेको प्रगति र आगामी योजनाबारे जानकारी गराइएको थियो ।











