काठमाडौँ । मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनको मौन अवधि आज रातिबाट शुरु हुदैछ । निर्वाचन आयोगले मङ्सिर १३ गते बिहीबार राति १२ः०० बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको बताएको छ ।

स्थानीय तहको उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान हुने ४८ घण्टादेखि मतगणना सम्पन्न नभएसम्म निषेध अवधिमा निर्वाचन प्रचारप्रसार गर्न नपाइने नियम सो अवधिदेखि लागू हुने आयोगका सहसचिव एवम् प्रवक्ता निता पोखरेल अर्यालले बताएका छन् ।

कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले कुनै पनि उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन, जुलुस निकाल्न वा नाराबाजी नगर्न निर्देशन समेत दिइएको आयोगले जनाएको छ।

यसैगरी, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न जस्तै सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा शेयर नगर्ने तथा नगराउन आयोगले निर्देशन दिएको छ।