इन्द्रेणी संवाददाता
दाङ । दाङको घोराही उपमहानगरपालिका अन्तर्गतको न्यायिक समितिले चालु आर्थिक वर्षको त्रैमासिक गतिविधि सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तीन महिनामा न्यायिक समितिमा दर्ता हुन आएका विभिन्न प्रकृतिका ५० वटा उजुरीमध्ये २२ वटा उजुरीमा मिलापत्र भएको न्यायिक समितिले जनाएको छ । जुन कूल उजुरीको ४४ प्रतिशत हुन आउँछ ।
न्यायिक समितिले सम्पादन गर्ने स्थानीय सरकार सञ्चालन ऐन २०७४ को उपदफा (१) र (२) मध्ये उपदफा (१) का ९ मध्ये तीन, उपदफा (२) का आठ मध्ये ६ वटा, अन्य उजुरीका ६ मध्ये दुई गरी ११ वटा र अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरी आएका ११ वटा गरी २२ वटा उजुरीमा मिलापत्र भएको न्यायिक समितिका संयोजक एवं उपमेयर हुमाकुमारी डिसीले जानकारी दिएकी छन् ।
त्रैमासिक प्रगति सार्वजनिक गर्नका लागि आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा ५० उजुरीमध्ये अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका १६ वटा र यो आवका १२ वटा गरी २८ वटामा मिलापत्र हुँन बाँकी रहेको संयोजक डिसीले बताइन् ।
दुबै पक्षलाई जितको अनुभूति हुने गरेर न्यायिक समितिले समितिमा परेका उजुरीहरुमाथि मिलापत्र गर्दै आएको समेत उनले बताइन् । समाजलाई विवादरहित बनाउने उद्देश्यका साथ न्यायिक समितिले काम गर्दै आएको छ ।











