बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पिछडिएको ठाउँ र भूगोललाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना तर्जुमा गर्ने बताएका छन् । बाँकेको नरैनापुरमा नेकपा एमालेले आयोजना गरेको बिशेष कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले पिछडिएको ठाउँ र भूगोललाई पहिलो प्राथमिकितामा राखेर योजना तर्जुमा गर्ने बताएका हुन् ।
‘प्रदेश समग्र विकास नरैनाको विकास संग जोडिएको छ । यहाँका नागरिकको जीवनस्तर उठेपछी प्रदेशको विकास भएको मानिने छ’मुख्यमन्त्री आचार्यले भने,‘त्यही भएर नरैनापुरको शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सिंचाई सबै प्रकारको विकासकालागि प्रदेश सरकार प्रतिबद्ध छ ।’
सिमान्तकृत समुदायको जीवनस्तर उठाउनेगरी कार्यक्रम निर्माण गरेको उनले बताए। नरैनापुर लगायतका क्षेत्रको अवलोकन गर्ने क्रममा प्राप्तभएका मागहरुलाई आगामी बर्षको बजेट मार्फत सम्वोधन गर्ने प्रतिबद्धता जनाउदै उनले भने ‘यहाँहरुको समस्यालाई प्रदेश सरकारले नजिकबाट हेरेको छ । बुझेको छ । हामी आउने बर्षको बजेट मार्फत सम्वोधन गर्छौं, चालु बर्षको बजेट बनिसकेको छ । बजेट रकमान्तरण गर्न मिल्दैन । पुरक बजेट ल्याउन मिल्दैन । आउदो बर्षको बजेटमा सरकारले उच्च प्राथमिकतामा राख्ने छ ।’
मुख्यमन्त्री आचार्यले संघीय सरकारले जनताको तटबन्ध कार्यक्रम मार्फत राप्ती नदी तटबन्ध गर्दै आइरहेको तर कामले गति लिन नसकेको भन्दै जनताको तटबन्ध कार्यालयका प्रमुखसंँग छलफल गर्ने र त्यहाँबाट सम्वोधन हुन नसके प्रदेश सरकारले तटबन्धको योजना अघि बढाउने बताए ।
