रुकुम । रिक्त पालिका पदाधिकारीका लागि मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा माओवादी केन्द्रले खाता खोलेको छ । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका २ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएपछि खाता खोलेको हो ।

नेकपा एमाले–कांग्रेसको सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका एमाले उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवारले नाम फिर्ता लिएपछि माओवादी केन्द्रका उम्मेदवार घर्ती निर्विरोध निर्वाचित भएका हुन् । पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा भने एमाले जिल्ला उपसचिव केसकुमारी तुलाचन कांग्रेसको चुनाव चिह्न लिएर उम्मेदवार भएकी छन् । उपाध्यक्षमा माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढा उम्मेदवार छन् ।

यसैबीच जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार टीकाकुमारी चौधरी (भूल) निर्विरोध निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराएकी रुपमती डगौरा थारुले उम्मेदवारी फिर्ता लिएसँगै चौधरी निर्विरोध भएकी हुन् । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न प्रदान गर्ने थियो ।