
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले सरकारको निर्देशन पालना गर्दै उद्योगमा बिजुली जोड्ने निर्णय गरेको बताएका छन्। बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले मन्त्रिपरिषदको उद्योगमा बिजुली जोड्ने निर्णयपछि ऊर्जा मन्त्रालयको पत्रअनुसार सञ्चालक समितिको बैठक बसेको र बोर्डले सरकारको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको बताए।
पत्रकार सम्मेलनमा घिसिङले डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा अबको १५ दिनभित्र उद्योगीहरुले बक्यौता नतिरे प्राधिकरण फेरि आफ्नै प्रक्रियामा लाग्ने बताएका छन् । “हामीले गरेको बिल अनुसारको महसुल उद्योगीहरुले १५ दिनभित्र तिरेनन् भने हामी आफ्नो प्रक्रियामा फेरि लाग्नेछौ । सरकारले पनि १५ दिनभित्र बक्यौता असुलउपर गर्न निर्देशन दिइसकेको छ”, उनले भने ।
बक्यौता उठेन भने, “अब नेपाल सरकार र ऊर्जा मन्त्रालय पनि बक्यौता उठाउन अघि बढ्नेमा विश्वस्त रहेको उनले बताए । प्राधिकरण आफ्नो ऐन कानुनमा रहेर बक्यौता उठाउन अघि बढ्नेछ, यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन र विद्युत् नियमन आयोगको निर्देशन अनसुार तीन महिना सुविधा दिएका थियौं ।”










