दाङ । दाङमा सामुदायिक वनको रुख काटेको आरोपमा वडाअध्यक्षसहित ६ जना पक्राउ परेका छन् । सामुदायिक वनको रुखको आरोपमा राजपुर गाउँपालिका–७ का वडाअध्यक्ष पुष्कर वलीसहित ६ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा घनबहादुर वली, घनबहादुरका छोरा तिलक वली, पदमबहादुर खड्का, भुपलाल बोटे र बालाराम कुमाल छन् । सिक्टा गाउँदेखि भित्री सिक्टासम्म विद्युत तार विस्तार गर्दा राप्ती किनार सामुदायिक वनमा तारमुनी परेका साल, ढौँटी, खयर प्रजातिका रुखहरु काटेको आरोपमा उनीहरुलाई डिभिजन वन कार्यालय देउखुरीले नियन्त्रणमा लिएको हो ।

वडाअध्यक्षको मिलेमतोमा वनका रुख काटिएको उजुरी अख्तियारमा परेको थियो । सामुदायिक वनमा ७४ वटा विभिन्न प्रजातिका रुख काटिएको प्रमाण भेटिएको र कटान भएको काठको परिमाण झण्डै तीन सय क्यूफिट हुन आउने अनुसन्धानमा खटिएका वन अधिकृतले बताए ।