काठमडौ १५ साउन । नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईले नयाँ सन्दर्भमा नेपाल–भारतबीचको सम्बन्धमा पुनरावलोकन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आज बिहान धनगढीमा आयोजित पत्रकार भेटघाटमा उहाँले दुई देशबीचको सम्बन्धमा पुनरावलोकन गर्न भारत तयार रहनुपर्ने भन्दै नेपाल–भारतबीचको सम्बन्धमा पुनरावलोकन गर्नु पर्नेमा जोड दिनुभयो ।
संयोजक भट्टराईले विगतमा राजनीतिक अस्थिरताका कारण नेपालले पनि पहल लिन नसकेको र भारतले पनि सकारात्मक भूमिका खेल्न नसकेको भन्दै पहिले नै अन्तराष्ट्रिय मान्यताका आधारमा दुबै देशबीचमा समझदारी कायम गर्नुपर्ने धारणा राख्नुभयो ।
एक फरक प्रसंगमा उहाँले प्रस्तावित ७ नं. प्रदेशको सीमांकनको विवादलाई पहिलो संविधानसभाको समिति र राज्य पुनस्संरचना आयोगको प्रतिवेदनको आधारमा समाधान गर्नुपर्ने बताउनुभयो ।
उहाँले पटक पटकको सरकार परिवर्तनको खेलले देश राजनीतिक अस्थिरताको शिकार भएको भन्दै राजनीतिक स्थिरताको लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक व्यवस्थापिका सहितको शासकीय स्वरुप हुनुपर्नेमा जोड दिनुभयो ।