इन्द्रेणी संवाददाता
घोराही, ४ बैशाख
थारुभाषा संरक्षण र साहित्यीक बिकासका लागि दाङमा सुरु भएको थारु साहित्यिक मेला–२०७३ आज सकिने भएको छ । साहित्यिक मेलाको हिजो घोराहीमा नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा विभागका प्राज्ञ श्रवण मुकारुङले उद्घाटन गर्नुभएको थियो ।
tharuनेपाल प्रज्ञा प्रतिष्ठान, जिल्ला विकास समिति दाङको आर्थिक सहयोग तथा थारु भाषा, साहित्य संरक्षण मंच, हर्चाली समूहको आयोजनामा तथा लौव अग्रासन साप्ताहिक, लावा डगर त्रैमासिक, दाङ हस्तकला संघ, नविस्रोत परिचालन केन्द्र, सहयोग समाज नेपाल ग्रामिण किसान उत्थान समूह, एकीकृत युवा क्लव सौडियार ५ राजपुरको सहआयोजनामा नेपालमा पहिलो पटक थारु साहित्यिक मेलाको आयोजना गरिएको हो ।

मुल आयोजक समितिका संयोजक संयोजक कृष्णराज सर्वहारीको अध्यक्षतामा मेलाको उद्घाटन गरिएको छ । ‘आपन पहिचान ओ मातृभाष बह्राई पौह्राई, थारु भाषा, साहित्यिक विकासम पइला बह्राई’ भन्ने मुल नाराका साथ आयोजना गरिएको साहित्यिक मेलामा विभिन्न कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

थारु मानक भाषाको बारेमा सुशील चौधरी, थारु उपन्यास अख्यानका बारेमा कृष्णराज सर्वहारी, थारु साहित्यमा दाङको योगदान केवी चौधरी, थारु साहित्यको योगदानमा लावा डगरको भूमिकामा श्रीराम चौधरी, थारु साहित्यमा कैलालीको योगदान सत्यनारायाण दहित, थारु साहित्यमा कविताको अवस्था विषयमा छविलाल कोपिलाले कार्यपत्र प्रस्तुत गर्ने प्रचारप्रसार संयोजक दहितले जानकारी दिनुभयो ।

साहित्यिक मेलामा थारु भाषाको विभिन्न पुस्तक तथा पत्रपत्रिकाहरुको प्रदर्शनी तथा विक्रिवितरण पनि चलिरहेको छ । मेलामा दाङ, बाँके, वर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, नवलपरासी, रुपेन्देही र काठमाण्डौमा बस्ने थारु साहित्यकारहरुभेला भएका छन् । हिजो घोराहीमा उद्घाटन गरिएको मेलाको भने आज सौडियार–५ राजपुरगाउँमा थारु साहित्यिक छलफल र समापन हुने भएको छ ।।