काठमाडौं । निजी प्रकाशनले छाप्दा बढी शुल्क लागेको र धेरै त्रुटि फेला परेको भन्दै अब तीनवटा कक्षाका मात्रै पाठ्यपुस्तक छाप्न दिइने भएको छ । कक्षा १, २ र ४ बाहेकका पाठ्यपुस्तक अब जनक शिक्षा सामग्री केन्द्रले छाप्ने भएको छ ।

यसअघि कक्षा पाँचसम्मका सबै पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएका निजी प्रकाशनको अधिकार शिक्षा मन्त्रालयले कटौती गरेको हो ।

अर्को वर्षपछि निजीलाई दिइएको अधिकार थप खुम्च्याइने मन्त्रालयले जनाएको छ । त्यसपछि सबै कक्षाका पाठ्यपुस्तक जनक शिक्षाले नै छाप्न दिने गरी मन्त्रालयले तयारी थालेको छ । एकैपटक सबै पुस्तक जनक शिक्षालाई छाप्न दिँदा व्यवस्थापनमा समस्या हुने हुँदा क्रमशः दायरा बढाउन लागिएको छ।