इन्द्रेणी संवाददाता
दाङ । दाङको पर्यटन प्रवर्द्धनका लागि यहाँका सबै सरोकारवाला निकायहरुको हातेमालो आवश्यक रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । नेपाल पर्यटन पत्रकार महासंघ दाङ शाखाको आज घोराहीमा दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले दाङ जिल्ला आफैमा पर्यटनको अत्यन्त सम्भावन रहेको जिल्ला भएको उल्लेख गर्दै यहाँको पर्यटन प्रवद्र्धन र विकास गर्नका लागि सबै सारोकारवाला निकायहरु हातमा हात मिलाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
दाङमा धार्मिक एवं विभिन्न एतिहासिक र प्राकृतिक सौन्दर्यतालगायतका पर्यटक लोभ्याउने पर्यटकिय क्षेत्र भएपनि यिनको प्रचारप्रसारको अभाव एवं विकास र प्रवद्र्धनको अभावमा यहाँको पर्यटन क्षेत्रको विकास हुन नसकेको भन्दै यसको विकासका लागि राज्य तथा अन्य पर्यटन क्षेत्रमा काम गर्ने सबै सरोकारवाला निकायको सक्रियता आवश्यकताको खाँचो रहेको वक्ताहरुको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएमले अहिलेको प्रविधिको विकाससँगै पर्यटन विकासमा सहजता भएको उल्लेख गर्दै दाङलगायत देशको समग्र पर्यटन विकासमा टेवा पुग्ने खालका काम गर्न पत्रकारहरुलाई आग्रह गरे । पत्रकारिताको माध्यमबाट पर्यटनको प्रवद्र्धन र विकासका लागि आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न समेत उपाध्यक्ष जिएमले आग्रह गरे ।
कार्यक्रममा दाङ जिल्ल उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले दाङ जिल्ला पर्यटनका लागि महत्वपूर्ण र सभवना बोकेका जिल्ला भएकाले यहाँको पर्यटन विकासका लागि पत्रकारहरुले आफ्नो लेखनीका माध्यमबाट भूमिका निर्वाह गर्न आग्रह गरे । साथै यहाँका पर्यटन विकास लगायत सबैखालको विकासका लागि नीजि क्षेत्र सबैसँग सहकार्य गर्न तयार रहेको अध्यक्ष जोशीले बताए ।
त्यस्तै नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष एवं वर्तमान सल्लाहकार सविन प्रियासनले यहाँको पर्यटन विकासका लागि पत्रकारहरुले राज्य तथा अन्य पर्यटन क्षेत्रसँग जोडिएका निकायहरुलाई पर्यटन विकासका लागि झक्झक्याउनुपर्ने बताए ।
कार्यक्रममा पर्यटन पत्रकार महासंघका महासचिव केशरमान बुढाथोकीले पर्यटन पत्रकार महासंघको इतिहासलाई कोट्याउदै पर्यटन विकासका लागि पर्यटन पत्रकार महासंघको भूमिका महत्वपूर्ण रहेको बताए । महासंघका अध्यक्ष धनिराम शर्माले जिल्लाको समग्र पर्यटन सम्भावनाको बारेमा जानकारी दिएका थिए ।
पर्यटन पत्रकार महासंघ दाङका अध्यक्ष प्रकाश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नारायण भुसाललगायतले शुभकामना व्यक्त गरेका थिए ।
दाङमा केन्द्रिय कार्यालय स्थापना गरी वि.स. २०७१ सालमा स्थापन भएको नेपाल पर्यटन संघ स्थापनको करिव चार वर्षपछि वर्दियाको ठाकुरद्धारामा प्रथम राष्ट्रिय महाधिवेशन गर्दै नेपाल पर्यटन पत्रकार महासंघमा परिणत भएको थियो । महाधिवेशनपछि करिव एक दर्जन जिल्लाहरुमा शाखा पनि विस्तार गर्न सफल भएको थियो ।
दाङ जिल्लाको दोस्रो अधिवेशनले अभिषेक बोहराको अध्यक्षतामा दुई सदस्य पछि थप गर्ने गरी १५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
