काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आज काठमाण्डौमा सरकारविरुद्ध विरोध प्रदर्शन र खबरदारी सभा गर्दैछ । बिहान ११ बजेपछि काठमाण्डौको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने माओवादीले जनाएको छ ।
सबै जनवर्गीय सङ्गठनहरुलाई विरोध कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रले निर्देशन दिइसकेको छ । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । खबरदारी सभा शुरु हुनुअघि बिहान साढे ११ बजे भद्रकाली, सुन्धारा र काठमाण्डौ मल अगाडिबाट जुलुश शुरु हुनेछ । जुलुश रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकमा पुगेर सभामा परिणत हुने भएकाले केहीबेर गाडीको आवागमन प्रभावित हुने ट्राफिक प्रहरीले जनाएको छ । माओवादीले यसलाई भ्रष्टाचार र बेथितिविरुद्धको प्रदर्शन भनेको छ ।
माओवादीको प्रदर्शन र सभालाई लक्षित गरेर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइने काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । माओवादीले भनेअनुसार प्रदर्शन र सभामा ठूलो सङ्ख्यामा मानिसको उपस्थिती हुने भएकाले सुरक्षाको लागि ठूलै सङ्ख्यामा प्रहरी परिचालन हुने भएका कार्यालयले जनाएको छ ।