बर्दघाट । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात आज दिउँसो देखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।

शुक्रबार साँझ साढे ५ बजे बर्दघाट ४ दाउन्नेस्थित खुर्सानीखोलामा सडक भासिएपछि सडक अवरुद्ध भएको थियो । भासिएको सडक मर्मतपछि बिहान ११ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिएका छन् ।

सडक भासिएपछि शनिबार विहान ९ बजेदेखि एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको थियो । तर मालवाहक सवारीसाधनलाई भने प्रवेशमा रोक लगाइएको थियो । दुईतर्फी सडक सञ्चालनमा आएपछि सवारीका साधन आवतजावतको समस्या केही टरेको छ भने यात्रुहरुको सास्ती केही कमी भएको छ ।