कास्की । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेको छविलाल जोशीलाई जिल्ला अदालत कास्कीले पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । सोमबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले पाँच दिन थुनामा राख्न अनुमति दिएको हो ।
गोर्खा मिडिया नेटवर्क प्रालिका शेयरधनी ५९ वर्षीय जोशीलाई १० दिन म्याद थप्न माग गर्दै कास्की प्रहरीले सोमबार दिउँसो अदालतमा उपस्थित गराएको थियो । जोशीविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्नुपर्ने प्रहरीको माग छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४, नालाको मुखमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा पक्राउ गरिएका जोशीलाई प्रहरीले आइतबार दिउँसो काठमाडौँको शङ्खमुलबाट नियन्त्रणमा लिएपछि थप अनुसन्धानका लागि जोशीलाई आइतवार राति नै हवाईजहाजमार्फत पोखरा ल्याइएको थियो ।
