काठमाडौं । आज भगवान कृष्ण जन्मेको दिन । अर्थात कृष्णजन्माष्टमी। भाद्र कृष्ण अष्टमी अर्थात् आजकै दिन सनातन धर्मावलम्बी भगवान् कृष्णको जन्म भएको दिनको सम्झनामा भगवान कृष्णको पुजा आराधना गर्दछन् ।

नेपाल र भारतमा रहेका श्रीकृष्णमन्दिरमा आजका दिन घुइँचो लाग्‍छ। नेपालमा पाटनको कृष्णमन्दिरमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ। साथै अन्य स्थानका कृष्ण मन्दिरहरुमा पनि भक्तजनाको भिड लाग्ने गरेको छ ।

पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रोहिणी नक्षत्रमा भगवान् विष्णु आठौँ अवतारका रूपमा कृष्ण जन्मिएका हुन्।

कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धअघि अर्जुनलाई गीताज्ञान प्रख्यात छ। मामा कंश लगायतको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

आजका दिन कृष्णका गुणकीर्तन गर्ने, उनको आराधना गर्ने, जाग्राम बसी रातमा उनको जन्मसमयको प्रतीक्षा गर्ने र भोलिपल्ट उत्सव मनाउने परम्परा छ। सोमबार ६ घडी ५८ पला अर्थात् बिहान ८ बजेर २७ मिनेटपछि अष्टमी तिथि शुरु हुने पञ्चाङ्गमा उल्लेख छ।