काठमाडौँ । १५ महिनादेखि विचाराधीन रहेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक आजै सदनमा पेस गर्ने तयारी भएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई निष्कर्षमा पुर्‍याउन संसद्को कानुन तथा मानवअधिकार समितिले बिहीबार बैठक बोलाएको छ । मुख्य विवादित विषयमा प्रमुख तीन दल सम्मिलित कार्यदलले सहमति जुटाएपछि समितिले बैठक डाकेको हो ।

विधेयकलाई निष्कर्षमा पुर्‍याउनका लागि सहजीकरण गर्न गत असार १३ मा गठन गरिएको कांग्रेस, एमाले र माओवादीका नेता सम्मिलित तीन सदस्यीय कार्यदलले सहमतिसहितको प्रतिवेदन बुधबार तीनै दलका शीर्ष नेतालाई बुझाएको छ ।