काठमाडौँ । विद्यालर्थीको आन्दोलनका कारण पदबाट राजीनामा दिएर भारतको शरणमा पुगेकी बङ्गलादेशका निवर्तमान प्रधानमन्त्री शेख हसिना वाजेदले बेलायतमा शरण नपाउने भएकी छन् । बङ्गलादेशको चर्को आन्दोलन थेग्न नसकेपछि भारतको शरणमा पुगेकी हसिनाले भारतबाटै बेलायतमा शरण दिनका लागि अपिल गरेकी थिइन् ।
अपिलप्रति बेवास्ता जनाउँदै बेलायत सरकारले शरणका लागि अन्यत्र विकल्प खोज्न सुझाव दिएको छ । बङ्गलादेशमा उत्पन्न हिंसात्मक परिस्थितिको जिम्मेवार कुनै न कुनै रूपमा हसिना भएको लक्षित गर्दै भविष्यमा हुने अनुसन्धानका कारण बेलायतमा अपेक्षित सुरक्षा प्रदान गर्न नसकिने बेलायतको विदेश मन्त्रालयले प्रस्ट पारेको छ ।
बेलायत सरकारले बङ्गलादेशमा घटित घटनाको संयुक्त राष्ट्रसङ्घले स्वतन्त्र अनुसन्धान गर्नुपर्ने धारणा राखिसकेको छ । आरक्षणको विरोधमा विद्यार्थीहरुले गरेको आन्दोलनका कारण हसिनाले गएको सोमवार पदबा।ट राजीनामा दिदै भारतको शरणमा आएकी थिइन् । आन्दोलनमा करीव चार सय जनाले ज्यान गुमाएका छन् ।