दाङ । मनसुन सुरुसँगै दाङमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् ।
जिल्लाका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र लमही अस्पताल तथा स्वास्थ्य केन्द्रमा डेङ्गुका बिरामी उपचारका लागि आउने गरेका सम्बन्धित अस्पतालहरुले बताएका छन् । ती अस्पतालहरुमा अहिले २१ जनामा डेङ्गु पोजेटिभ देखिएको छ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डेङ्गुका दुई जना विरामी भर्ना नै गरेर उपचार भइरहेको छ । लमही अस्पतालमा मनसुन सुरु भएयता दुई जनामा डेङ्गु पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असारमा ११ जना र साउन ८ सम्म थप छ जनामा डेङ्गु देखा छ ।
डेङ्गु एडिस नामक लामखुट्टेको टोकाइबाट सर्छ । जसले जिका र चिकनगुनिया जस्ता भाइरस पनि बोक्छ । लामखुट्टेले डेङ्गु ज्वरो भएको व्यक्तिलाई टोक्छ र त्यसपछि अरू कसैलाई टोक्छ, जसले गर्दा उनीहरू संक्रमित हुन्छन् । डेङ्गु एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग होइन तर डेङ्गु गर्भवती महिलाबाट भने बच्चामा सर्न सक्ने बताइन्छ ।
डेङ्गुका लक्षणहरू
– आँखाको पछाडि (भित्रि) भाग दुख्नु
– वाकवाकी लाग्नु
– मांसपेशी, हड्डी तथा जोर्नी दुख्नु
– शरीरका ग्रंथिहरु सुन्निनु
– छाला रातो हुनुका साथै छालामा डाबर आउनु
लामखुट्टेले टोकेको ४ देखि १० दिनपछि डेङ्गु ज्वरोको लक्षण देखिन थाल्छ र लक्षणहरु ३ देखि ७ दिनसम्म रहन सक्छ ।











