काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरो लगायतका विपदमा परी एक महिनामा ७४ जनाको मृत्यु भएको छ । सोमबार नेपाली प्रहरीद्वारा जारी बुलेटिनमा गत जेठ २८ गतेदेखि आज (सोमबार) सम्म ७४ जनाको मृत्यु भएको उल्लेख छ ।

बाढीपहिरो लगायतका विपदमा परी काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेश प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चार जना गरी जम्मा ७४ जनाको मृत्यु भएको हो ।

काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २१, मधेश प्रदेशमा पाँच, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा ८८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बाढीका कारण जम्मा एक सय ६१ घर डुबानमा परेका छन् । ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । तीन सय ३५ वटा पशु चौपाया मरेको छ । उक्त अवधिमा विपद्का घटनाबाट दुई हजार दुई सय ९६ घर परिवार विस्थापित भएका छन् ।