दाङ । पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेकपा एमाले लुम्बिनी प्रदेश सरकार र सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएको छ ।

प्रदेश सरकारमा रहेका एमाले लुम्बिनी मन्त्रीहरुले बिहीबार राजीनामा दिएका छन् भने सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीहरुले पनि समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा दिएका छन् ।

लुम्बिनी प्रदेशमा एमालेबाट मन्त्री भएकाहरू मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा बुझाएका थिए । उनीहरुलाई मुख्य मन्त्री महराले चियापानको आयोजना गरेर समेत विदाइ गरेका थिए ।

त्यस्तै सुदूरपश्चिम एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता र तीन मन्त्रीलाई राजीनामा दिन लगाएको थियो । यो सँगै लम्बिनीमा महराको र सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् । केही दिन अघि मात्रै एमालेले माओवादीको साथ छोडेर आफ्नो नेतृत्वमा कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेको थियो ।