काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका छन् ।
आज शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मनसुनजन्य जोखिमको न्यूनीकरण तथा जोखिम प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्रीले नेपाल प्राकृतिक विपत्तिको उच्च जोखिमयुक्त देश भएकाले तीनवटै सुरक्षा अङ्गको समन्वयात्मक पहलमा विपद् व्यवस्थापनको पूर्वतयारीको व्यवस्थित काम गर्न निर्देशन दिए ।
“राजनीतिमा उतारचढाव भइरहन्छ । तर सरकार र राज्यका निकायहरूले आफ्नो जिम्मेवारी भुल्नुहुँदैन । नेपाल यसै पनि विपद्का दृष्टिले उच्च जोखिमयुक्त देश हो । त्यसमाथि यस वर्ष मौसम आक्रामक हुने पूर्वानुमान छ । त्यसैले व्यवस्थित पूर्वतयारी गरौं । विपद् व्यवस्थापनमा हामीसँग पैसा पनि छ । तर कार्यविधिको झण्झटले पैसा परिचालन गर्न नसकेको कुरा बोध गर्दै यसलाई सहज परिचालन गर्न सकिने गरी परिमार्जन गरौं । राज्यका सबै निकायहरूको सम्पूर्ण ध्यान पूर्वतयारी र जोखिम न्यूनीकरणमा केन्द्रित गरौं’’, उनले भने ।
छलफलमा नेपाली सेना र गृह मन्त्रालयका तर्फबाट विपद् व्यवस्थापनको पूर्वतयारी र जोखिम पूर्वकार्य सम्बन्धी आफ्नो तर्फबाट गरिएको तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो ।
