सल्यान । सल्यानमा बायो इन्जिनियरिङ्ग प्रविधि मार्फत पहिरो तथा भूक्षय नियन्त्रणको प्रयास थालिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा प्रकोप जोखिम व्यवस्थापन, जलवायु अनुकुलन तथा पानीका मुहान र जैविक विविधता संरक्षणका लागि इन्जिनियरिङ्ग प्रविधिको सुरुवात भएको हो ।
सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना (सुस्वा) अन्तर्गत गाउँपालिकाले स्थानीयहरुलाई यस प्रविधिको बारेमा सीप प्रदान गरेको हो । नेपालको परिवेशमा उपयुक्त र कम लागत पर्ने बायो इन्जिनियरिङ्ग प्रविधि, यसको आवश्यकता र औचित्यबारे ७ वटै वडाका २८ जना स्थानीय र वास युनिटका कर्मचारीहरुलाई तालिम प्रदान गरिएको थियो ।
बुधबार देखि शुक्रबार सम्म सञ्चालन भएको तालिम अन्तर्गत सहभागिहरुले दुई दिन सम्म प्रयोगात्मक रुपमा बायो इन्जिनियरिङ्ग सीप सिकेका थिए । छत्रेश्वरी- ५ स्थित महेन्द्र माध्यमिक विद्यालयमा भुक्षय र पहिलोको जोखिम व्यवस्थापनका लागि बायो इन्जिनियरिङ्ग गरिएको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए ।











