काठमाडौँ, १४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनको आह्वान गर्नुभएको सातदिने समय आइतबार सकिने भएपछि बहुमतीय आधारमा प्रधानमन्त्री निर्वाचनका लागि सत्ता गठबन्धनबाट सम्भावित उम्मेदवारको खोजीकार्य सुरु भएको छ । विपक्षी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निश्चित प्रायः भएको अवस्थामा सत्तागठबन्धनले आफ्नो सम्भावित प्रधानमन्त्री उम्मेदवारको खोजी सुरु गरेको हो ।
अहिलेसम्मको सम्भावित उम्मेदवारमा नेकपा माले का महासचिव सीपी मैनाली, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ र नेमकिपाबाट नारायणमान विजुक्छेको नाम चर्चामा छ । त्यस विषयमा औपचारिक निर्णय भइसकेको छैन ।
साउन १६ गते सहमतीय आधारमा प्रधानमन्त्री चयनको कोर्स सकिने भएपछि सोही दिन साँझसम्म राष्ट्रपति भण्डारीले बहुमतीय आधारमा प्रधानमन्त्री निर्वाचनको अर्को आह्वान गर्नुहुनेछ । उहाँको आह्वानसहितको चिठी साउन १७ गते बस्ने व्यवस्थापिका संसद् बैठकमा प्रस्तुत गरिनेछ । राष्ट्रपतिले निश्चित समयावधि तोकेर संविधानको धारा २९८ को उपधारा ९३० बमोजिम बहुमतीय आधारमा प्रधानमन्त्री निर्वाचनको आह्वान गर्नुहुनेछ ।।