
काठमाडौँ । भारतको लोक सभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको ‘राष्ट्रिय लोकतान्त्रिक गठबन्धन’ (एनडिए) लाई प्रस्ट बहुमत प्राप्त भएको छ । यो सँगै प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो पटक बहुमतका साथ सत्ताको वागडोर सामलेको छ । मोदी तेस्रो पटक वनारसबाट चुनाव जितेका छन्।
जम्मा ५४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले २ सय ४० सिटमा जित हासिल गरेको छ। भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडिएले २९२ सिट जितेको छ । भाजपाका एक उम्मेदवार भने यस अघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।
त्यसैगरी एनडिएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले २२४ सिटमा जित हासिल गरेको छ। काङ्ग्रेस ९९ सिट, समाजवादी पार्टी ३७ सिट, द्रविड़ मुन्नेत्र कड़गम (डिएमके) २२ सिट, तृणमूल काङ्ग्रेस २९ सिट, शिवसेना (उद्धव ठाकरे) ९ सिट, एनसीपी (सपा) ले आठ सिटमा जित हासलि गरेका छन्।










