काठमाडौं । गएराति भएको नेपाल र नेदरल्याण्ड्सबीच भएको आईसीसी टी २० विश्वकप क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्याण्ड्सले ८ बल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टायो। अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो।

खेलमा नेदरल्याण्ड्सका म्याक्स ओडाउडले अर्धशतकीय पारी खेले । उनी ५४ रनमा अविजित रहे। विक्रमजित सिंहले २२ र साइब्राण्ड एन्जलब्रेटले १४ रन बनाउँदा कप्तान स्कट इडवार्डस् ५ रनमा आउट भए।

नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहोराले एक/एक विकेट लिए। नेपालले १९ दशमलव २ ओभरमा अलआउट हुँदै १ सय ६ रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए । उनले ५ चौका प्रहार गरे । करण केसीले १२ बल खेल्दै २ छक्काको सहयोगमा १७ रन जोडे । गुल्सन झाले १५ बलमा १ छक्का प्रहार गर्दै १४ तथा अनिल शाहले १२ बलमा २ चौकासहित ११ रन जोडे । अरु खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। कुशल मल्ल ९, कुशल भुर्तेल ७, आसिफ शेख ४, दीपेन्द्रसिंह ऐरी एक रनमा आउट हुँदा सोमपाल कामी र अविनाश बोहरा शून्यमा आउट भए।