तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले प्राकृतिक विपद्को सामना गर्न चौविसै घण्टा जनशक्तिको व्यस्थापन गर्ने भएको छ ।
आज बसेको उपमहानगरको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले आगामी भदौ १५ गतेसम्म डोजर,टिप्पर र कर्मचारी,खोज उद्धारका सामग्री तयारी अवस्थामा राख्ने निर्णय पनि गरेको छ ।
वर्षायाममा फैलनसक्ने झाडापखाला, हैजा लगाएतका महामारीको नियन्त्रणका लागि जनस्वास्थ्य प्रवद्धन शाखालाई हाइअलर्ट राख्ने, सुरक्षा निकाय, डिइओसी, रेडक्रस लगायतका संघ संस्थासँगको समन्वयलाई निरन्तरता दिने निर्णय गरेको विपत व्यवस्थापन शाखाका प्रमुख टोपबहादुर डाँगीले जानकारी दिए ।
बैठकमा नगर प्रमुख टिकाराम खड्काले विपद्को सामना गर्न उपमहानगरले कुनै कसुर बाँकी नराख्ने भन्दै तयारी अवस्थामा बस्न कर्मचारीहरुलाई निर्देशन दिए । विपद्को जोखिम उच्च हुने भएकाले उद्धारका सामग्रीको कमी हुन नदिन आफू प्रतिवद्ध भएको बताए ।
