तिलाचन पाण्डे
तम्घास। गुल्मीमा पाँच सय बढी रोपनी बाँझो जग्गा लिजमा लिई ताजा तरकारी खेती गरिएको छ । पैँचो नमुना कृषि उत्पादन केन्द्रले जिल्लाका तीन स्थानमा पाँच सय रोपनी बढी जग्गा भाडामा लिई ताजा तरकारी लगाएको पैँचो पसलका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले जानकारी दिए ।

जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर पाँच खरज्याङमा ६० रोपनी जग्गामा विभिन्न जातका टमाटर, गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ को पुर्खेमा १५० रोपनी जग्गामा टमाटर र मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरमा तीन सय रोपनी जग्गामा अकबरे खुर्सानी र काक्रा लगाइएको न्यौपानेले बताए ।

पाँच सय रोपनी जग्गा व्यवस्थापन गर्नका लागि करिब एक करोड ५० लाख रुपियाँ खर्च भएको र तीन सय बढीले प्रत्यक्ष रुपमा रोजगारी पाएको उनको भनाइ छ । गाउँमा रहेको बाँझो जग्गालाई लिजमा लिई बसाई सराई कम गर्नका लागि थप टेवा पुग्ने गरी आफूहरुले काम गर्दै आएको न्यौपानेले बताए ।

विगत १० वर्षदेखी आफूहरुले पैँचो पसल प्रालि चलाउँदै आएको अनुभवलाई कृषि क्षेत्रको उत्पादनमा प्रयोग गर्ने गरी योजना बनाएको बताउँदै न्यौपानेले पैँचोलाई देशभर फैलाउने लक्ष्य रहेको बताए।

छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले पैँचोसँग सहकार्य गरेर काम गर्न आफूहरु तयार रहेको बताए गोरखापत्रमा खबर छ। पैँचोको निरन्तरताले नेपालका पहाडी क्षेत्रबाटै कृषिबाट आत्म निर्भर बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेकोे बताउँदै उनले निजी क्षेत्रहरु र सहकारीलाई साथमै लिई बजारीकरणको काम गर्न सक्ने योजना पनि सुनाए ।