जाजरकोट । कर्णाली प्रदेशको भूकम्प प्रभावित क्षेत्रका महिला तथा किशोरीहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गरिएको छ । जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावित क्षेत्रहरुमा नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले सेनेटरी प्याड वितरण गरेको हो ।
जाजरकोटको नलगाड नगरपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भूकम्प प्रभावित क्षेत्रका किशोरी र महिलाहरुलाई १ हजार बढी सेनेटरी प्याड वितरण गरिएको थियो । नेपाल महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाज ललितपुरको सहकार्यमा भूकम्प प्रभावित क्षेत्रमा सञ्चालित सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्तरगत द ग्लोबल अप्लीक प्रोजेक्टसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा पुनः प्रयोग गर्न सकिने सेनेटरी प्याड वितरण गरिएको हो ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रले घोराहीमा सञ्चालन गरेको महिला स्वरोजगार केन्द्रले उत्पादन गरेको सेनेटरी प्याडहरु भुकम्प प्रभावित क्षेत्रमा वितरण गरिएको नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिए ।
स्थानीय तह एवं स्वास्थ्य संस्थाहरुसँगको सहकार्यमा जनप्रतिनिधी एवं स्वास्थ्यकर्मीहरुको उपस्थितिमा सेनेटरी प्याड वितरण गरिएको दिए । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ र २, रुकुम पश्चिमको आँठबिसकोट नगरपालिका वडा नम्बर ११, १३ र १४ नम्बर वडाका विभिन्न समुदाय एवं विद्यालयमा एक हजार बढि महिला तथा किशोरीहरुलाई सेनेटरी प्याड वितरण गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।
