इन्द्रेणी संवाददाता
दाङ । दाङबाट यस वर्षको एसईई परीक्षामा १२ हजार ८ सय ९८ जना विद्यार्थीहरु सहभागी हुदैछन् । जिल्लाका १०७ सामदायिक र १३५ निजी गरी जम्मा २४२ विद्यालयका १२ हजार ८ सय ९८ जना विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेका हुन् ।

जसका लागि ४६ वटा परीक्षा केन्द्रहरु तोकिएका छन् । परीक्षालाई मर्यादित रुपमा सञ्चालन गर्नका लागि शिक्षा विकास तथा समन्वय इकाइ दाङले शनिवार मात्रै जिल्लाका सञ्चारकर्मीहरुसँग छलफल गरेको छ ।

छलफल कार्यक्रममा इकाइका प्रमुख देवमणि चौधरीले परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन इकाइले निर्वाह गर्नुपर्ने सबै काम पूरा भएको बताए । परीक्षालाई मर्यादित बनाउन केन्द्रमा विद्युतिय सामग्री मोवाइल पूर्णरुपमा निषेध गरिएको बताए । परीक्षा केन्द्रमा केन्द्राध्यक्ष वाहेक निरिक्षक, परीक्षार्थीलगायत अन्य कुनै पनि कर्मचारीहरुले मोवाइल प्रयोग गर्न नपाउने चौधरीले बताए ।

त्यस्तै परीक्षा केन्द्रमा विद्यार्थीहरुका कोही आफन्तहरु परीक्षा केन्द्रमा स्वइच्छुक रुपमा वाहिरिना अनुरोध गरिएको छ । सञ्चारकर्मीहरुलाई पनि वाहिरको दृष्य वाहेक भित्र परीक्षा हलमा गएर फोटो तथा भिडियो खिच्न निषेध गरिएको छ । परीक्षा मर्यादित बनाउने परीक्षा केन्द्रहरुको मूल्याङ्कन गरेर सम्मानको व्यवस्था पनि गरिएको प्रमुख चौधरीले बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन हरेक परीक्षा केन्द्रमा १० देखि १२ जनको दरले सुरक्षाकर्मी खटाइएको जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भइदिन अनुरोध गरे । यसवर्षको एसईई परीक्षा चैत्र १५ गतेदेखि सञ्चालन हुदैछ ।