कास्की । आज औपचारिकरूपमै पोखरा पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आथित्यतामा सुन्दर फेवातालको किनार बाराहीघाटमा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम छ।

पोखरा महानगरपालिकाले आज औपचारिक कार्यक्रमका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी पूरा भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

महानगर २०७५ सालदेखि नै यस विषयमा अध्ययन भइरहेको र पर्यटकीय राजधानी घोषणाका लागि आधारभूत मापदण्ड पोखरासँग भएकाले घोषणा गरेर पोखरालाई अन्तर्राष्ट्रिय जगत्‌मा ‘ब्राण्ड’ बनाउन लागिएको महानगर प्रमुख धनराज आचार्यले बताए । लामो समयदेखि नै पोखरालाई पर्यटकीय राजधानी मान्दै आए पनि औपचारिक रुपमा भने घोषणा गरिएको थिएन ।