नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले राजनीतिक अस्थिरता अन्त्य गर्नका अहिलेको संसदिय व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । आज नेपाल प्रेस सोसाइटी प्रदेश नम्बर ६ ले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा संयोजक भट्टराईले संसदिय व्यवस्थाका कारण देशमा सरकार फेरबदलको फोहोरी खेल सक्रिय भएको भन्दै शासकिय स्वरुप नै परिवर्तन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी रहने व्यवस्था लागु गर्नुपर्ने बताउनुभएको हो ।
डा. भट्टराईले लोकतान्त्रिक प्रणालीमा सरकार परिवर्तन हुने कुरा स्वभाविक भएपनि दलगत तथा बाह्य स्वार्थका कारण सरकार गिराउने संस्कार संस्थागत हुँदै गएकोले स्थिरताको लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था आवश्यक रहेको उल्लेख गर्नुभयो । नौ÷नौ महिनामै सरकार फेरबदल हुने संस्कारका कारण देशमा अनियमितता, कालोबजारी, र विकास निर्माणमा नकारात्मक परेको भन्दै दुःख व्यक्त गर्नुभयो ।
