काठमाडौं । झापाको दमकस्थित बालुवाटारको करिब ७८२ रोेपनी सार्वजनिक जग्गा व्यक्तिका नाम दर्ता गरिएको खुलासा भएको छ । सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई फरक मुद्दामा ३५९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
एउटा मुद्दामा १८७ जना तथा अर्को मुद्दामा १७२ जनालाई प्रतिवादी दाबी गर्दै आइतवार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । दुई छुट्टाछुट्टै मुद्दामा मुख्य अभियुक्तका रूपमा माओवादीका स्थानीय नेता गगन भनिने रेवतराज पुरी, झापा चन्द्रगढीका तत्कालीन तीन प्रमुख नापी अधिकृत शशिकान्त झा, विष्णुकुमार न्यौपाने र संसारनाथ पाण्डे तथा दमक, झापाका तत्कालीन प्रमुख मालपोत अधिकृत बच्चुराम कार्कीसहित भूमाफिया, नेता, कर्मचारी र बिचौलियालाई विपक्षी बनाइएको छ ।
सो जग्गाको न्यूनतम मूल्याङ्कन ३४ करोड ६६ लाख ५४ हजार ८ सय गरिएको छ । माओवादी नेता पुरीसहित नापी कार्यालय चन्द्रगढीका कर्मचारी १० जना, मालपोत कार्यालय दमकका कर्मचारी ११ जना, नापी कार्यालय, दमकका कर्मचारी ७ जनालाई प्रतिवादी बनाइएको छ । सार्वजनिक जग्गा गैरकानुनी रूपमा हाल साविक गर्दा व्यक्तिका नाममा दर्ता कायम गरेका ३६ जना जग्गा धनीलाई बिगो असुल तथा जग्गा जफतका लागि १ सय ८ जना प्रतिवादी बनाइएको छ ।











