केशरमान बुढाथोकी
दाङ, । नेपालका आम नागरिकहरुलाई सर्वसुलभ शुल्कमा सीपयुक्त शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ २०३७ सालमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको स्थापना भयो । स्थापनापछि यसले विभिन्न स्थानमा आफ्ना आंगीक शिक्षालयहरु स्थापना गरेर देशभर प्राविधिक शिक्षा प्रदान गरिरहेको छ । त्यस्तै सरकारी विद्यालयहरुमा आफ्ना कार्यक्रमहरु दिएर टेक्स स्कुल सञ्चालन गरेको छ, भने निजी क्षेत्रलाई पनि स्वीकृत प्रदान गरेर आफ्ना कार्यक्रमहरु समेत सञ्चालन गरेको छ । यतिमात्र नभएर सिटिइभिटीले साझेदारीमा समेत आफ्ना कार्यक्रमहरु सञ्चालन गरेर देशभर सेवा प्रवाह गरिरहेको छ
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले सञ्चालन गरेका दर्जनौं शिक्षालयहरुको भिडमा एउटा उत्कृष्ट शिक्षालय हो–दाङको शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय । पश्चिम नेपालमा रहेका आम विद्यार्थीहरुलाई केन्द्रित गरेर सीपयुक्त शिक्षा प्रदान गर्ने उद्देश्यले २०७५ सालमा दाङको घोराहीमा स्थापना गरेको शिक्षालयले हाल दाङलगायत लुम्बिनी प्रदेशका सबै जिल्ला, कर्णाली प्रदेशका सबै जिल्लाहरु, सुदूरपश्चिम प्रदेशका केही जिल्ला, मधेश प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश समेतका केही जिल्लाका विद्यार्थीहरुलाई सीपयुक्त शिक्षा प्रदान गरिरहेको छ ।
दाङ जिल्लाको केन्द्र घोराहीमा स्थापित यस शिक्षालयले विभिन्न ९ वटा ट्रेडहरु सञ्चालन गरेर करिब १ हजार विद्यार्थीहरुलाई अध्यापन गराइरहेको छ, भने दर्जनौं विद्यार्थीहरु सीपयुक्त शिक्षा लिएर उच्च शिक्षाका लागि विदाइ भइसकेका छन् । कृष्णसेन बहुउद्देश्य यतिबेला शिक्षालयले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को ३६ औं परिषद् स्थापना दिवस तथा शिक्षालयको छैठौं वार्षिकोत्सव समारोह मनाइरहेको छ ।
मिति २०८० साल फाल्गुन ६ गते प्रभातफेरि कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सवको उद्घाटन गरेर शिक्षालयमा आज भव्य समारोहका बीच वार्षिकोत्सव हुँदैछ । खेल सप्ताहका बिचमा विभिन्न खेलकुद कार्यक्रम आयोजना गरेको शिक्षालयले प्रतिस्पर्धामा संलग्न भएर बिजेता उप बिजेताहरुलाई पुरस्कार प्रदान गर्नेछ, भने पढाइमा अब्बल भएका विद्यार्थीहरुलाई छात्रवृत्ति हस्तान्तरण गर्नेछ ।
शिक्षालयले हाल नौ वटा ट्रेडमा अध्यापन गराउँदै आएको छ । स्वास्थ्य क्षेत्रमा अत्याधिक माग भइरहेको फार्मेसी कार्यक्रम यस शिक्षालयको महत्वपूर्ण कार्यक्रम हो, भने स्वास्थ्य क्षेत्रकै अर्को महत्वपूर्ण कार्यक्रम हो ल्याव टेक्नोलोजी अनि रेडियोग्राफी पनि यस शिक्षालयको आकर्षक कार्यक्रम हो । त्यस्तैगरी वन विज्ञान तथा बाली विज्ञान पनि यस शिक्षालयमा अध्यापन गराइने महत्वपूर्ण ट्रेडहरु हुन् । आर्किटेक्ट इञ्जिनियरिङ जस्तो महत्वपूर्ण विषय पनि हाल शिक्षालयमा अध्यापन भइरहेको छ । अर्को महत्वपूर्ण विषय हो–होटेल म्यानेजमेन्ट । नेपाल तथा विदेशका लागि समेत अत्याधिक माग भइरहेको यो विषयमा पनि शिक्षालयमा अध्यापन हुँदै आइरहेको छ । देशभर दुर्लभ शिक्षालयमा पढाइ हुने फुड एण्ड डेरी टेक्नोलोजी शिक्षालयको अर्को महत्वपूर्ण कार्यक्रम हो भने यरोमेटिक तथा मेडिसनल प्लान अत्यन्तै नयाँ कोर्ष समेत यस शिक्षालयमा अध्यापन भइरहेको छ । होटेल म्यानेजमेन्टमा २४ महिने कार्यक्रम सञ्चालन गर्दै आएको शिक्षालयले आगामी वर्षमा स्वास्थ्य तथा इञ्जिनियरिङ क्षेत्रमा नयाँ कार्यक्रम थप गर्ने लक्ष्य राखेको छ ।
साविक मध्यपश्चिमको दाङमा स्थापना भएर पश्चिम नेपालभरका विद्यार्थीहरुलाई प्राविधिक शिक्षा प्रदान गरिरहेको शिक्षालयले पछिल्लो समय पश्चिम नेपालमा प्राविधिक शिक्षाको जग बसाल्न सुरुवात गर्दैछ । अत्यन्तै न्यून शुल्कमा प्राविधिक शिक्षा प्रदान गरिरहेको शिक्षालयले नि शुल्क रुपमा दर्जनौं सीपयुक्त तालिम समेत सञ्चालन गरिरहेको छ ।
