हुम्ला । हिल्दुम विद्युत् वितरण केन्द्रले लोडसेडिङ समय बढाएपछि सेवा प्रदायक निकायबाट सेवाग्राहीले काम लिन कठिन भएको छ । पावर हाउसका लागि आवश्यक पर्ने पानीको स्रोत कम भएको हुँदा दैनिक लोडसेडिङ समय बढाइएको केन्द्रले जनाएको हो ।

वडा कार्यालयबाट पाँच दिनदेखि जन्म दर्ता गर्ने कार्य नभएको बताउदै सिमकोट गाउँपालिका– ५ कमला रावतले कर्मचारी बत्ती नभएको कारण प्रिन्ट गर्न नसकिएको जवाफ दिने गरेको बताए । छोरीको भर्ना गर्ने कामका लागि समेत विद्युत् आपूर्ति नभएको कारण समस्या भोगिरहेको उनको भनाइ छ । सोलारको व्यवस्था भएका कार्यालय बाहेक अन्य सबै कार्यालयले प्रदान गर्ने सेवा प्रभावित भएका छन् ।

नन्द मोबाइल सेन्टरकी सुनमति सिंहले केन्द्रले लोडसेडिङको समय बढाएको कारण सबै काम बन्द गरिएको बताए । आफ्नो पसलका लागि आवश्यक पर्ने अधिकांश समयमा लोडसेडिङ हुने भएको कारण मोबाइल बिक्री बाहेक अन्य काम बन्द भएको उनले बताए ।
पानीको स्रोत कमी भएको कारण विद्युत् उत्पादन कम भएपछि लोडसेडिङ तालिका बढाएर दैनिक पन्द्र घण्टासम्म पुग्ने गरेको वितरण केन्द्रका निमित्त प्रमुख शङ्करप्रसाद हमालले बताए । दुई वटा सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको केन्द्रले हाल दैनिक १३ देखि १५ घण्टा लोडसेडिङ गर्नुपरेको छ ।